शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले गोरु काटेर खाएः सांसद भण्डारी

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १७ : ०५
शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले गोरु काटेर खाएः सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले धरानमा गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई लिएर संसद्को ध्यानाकार्षण गराएका छन् ।

गोरु काटेर केही उश्रिङ्खल तत्वहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न गरेको भन्दै उनले उक्त कार्यले देशको बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक मुलुकको धार्मिक तथा सांस्कृतिक सहिष्णुततामाथि प्रहार भएको बताए ।

आपसी सद्भाव तथा सहिष्णुता राख्नका लागि सबै समुदाय अत्यन्त जिम्मेवार भएर आ–आफ्नो धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई छ ।

नेपालको कानुनले शान्तिपूर्ण ढंगबाट आफ्नो धर्म मान्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै उनले अरुको धर्म र आस्थाप्रति प्रहार गर्न कसैलाई पनि छुट नरहेको बताए ।

उनले अपसी सद्भाव र सहिष्णुतालाई चुनौति दिने गरी घटाइएको उक्त घटना निन्दनीय रहेको र वैदिक सनातन धर्म मान्नेहरुको आस्थामाथि प्रहार भएको बताए ।

उनले नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गर्न खोजेको र यस्ता अराजक तत्वलाई समाजले निगरानीमा राख्न पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस