नेपालमा पुनः उडान गर्दै थाई एयरवेज

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १५ : १६
नेपालमा पुनः उडान गर्दै थाई एयरवेज

काठमाडौं । थार्ई एयरवेजले आगामी कात्तिक १५ देखि नेपालमा पुनः उडान सञ्चालन गर्ने भएको छ । थार्ई एयरवेज इन्टरनेसनलले कोभिड–१९ महामारीका कारण २०२० अप्रिलदेखि काठमाडौंका लागि रोकको उडान पुनः सञ्चालन गर्ने भएको हो । एयरवेजले सातामा सातैवटा उडानका लागि अनुमति मागेको हो ।

एयरवेजले नेपालको लागि जेनेरल सेल्स एजेन्टको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सरभिसेजलाई नियुक्त गरेको छ । उक्त नियुक्ति २०२३ अगस्ट १ बाट लागू भएको जनाइएको छ । सम्झौताअनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थार्ई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थमा सेवा उपलब्ध गराउने छ । एयरवेजले बैंकक–काठमाडौं–बैंकक सातामा ७ उडान भर्ने गरी उडान अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नोभेम्बर १ बाट उडान भर्ने गरी थाए एयरवेजले उडान अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । उनले भने, ‘कोभिड–१९का कारण उडान बन्द गरेको थार्ई एयरवेजले नियमित बैंकक–काठमाडौं–बैंककमा उडानका लागि अनुमति मागेको छ । प्रकृयामा रहेकाले अनुमति प्राप्त गर्न भने बाँकी रहेको छ ।’ यस साझेदारीमार्फत सन् १९६८ डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थार्ई एयरवेज नेपाली उड्डयन इतिहासमा र नेपाली यात्रुमाझ लोकप्रिय थियो ।

सो एयरवेजले कोभिड–१९ अगाडि बैंकक–काठमाडौं–बैंककमा साताको १४ उडान भर्दै आएको थियो । थार्ई एयरवेज इन्टरनेशनलले थाईल्याण्डमा विदेशी पर्यटन प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थार्ई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न जनाएको छ ।

थार्ई एयरवेज इन्टरनेशनलका चिफ कमर्सियल अफिसर कोराकोट चटासिंघाले थार्ई एयरवेज इन्टरनेसनलको काठमाडौं उडान पुनः सञ्चालनमा आएको जनाएका छन् । उनले भने, ‘थाईल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थार्ई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुको बढ्दो संख्याका लागि मात्र नभई दुई देशबीचका आर्थिक गतिविधिसमेत अभिवृद्धि गर्ने छौं ।’

अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरमा थार्ई एयरवेजको उडान रहेकाले नेपालबाट तेश्रो देशमा जाने यात्रुलाई सहज र सुरक्षित उडानको विकल्प हुने उनको भनाइ छ । आर आर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थार्ई एयरवेको नेपालका लागि जिएसए नियुक्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस