भक्तपुर इन्काउन्टरबारे सरकारले प्रमाण नष्ट गर्न खोजेको आरोप

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०७५, १६ : २६
भक्तपुर इन्काउन्टरबारे सरकारले प्रमाण नष्ट गर्न खोजेको आरोप

काठमाडौँ । नेपाली काग्रेसका सांसद डिला संग्रौलाले साउन २० गते बालक हत्यापछि भक्तपुरमा भएको प्रहरी इन्काउन्टरको जानकारी सरकारले सदनमा गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उहाँले घटना भएको लामो समयसम्म पनि घटनाबारे सदनमा जानकारी नगराइएको भन्दै ध्यानाकर्षण गराउनुभयो । सांसद संग्रौलाले ईन्काउन्टरको घटनाले सत्यतथ्य लुकाउन र प्रमाण नष्ट गर्न खोजिएको भन्दै यसमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै, उहाले निर्मला पन्तको हत्या गर्नेलाई अझै पक्राउ गर्न नसकेको आरोप लगाउनुभयो ।
बैठकमा सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिममा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय तह नै सङ्घीय व्यवस्थाको प्रमुख आधार भए पनि पछिल्लो दिनमा उपेक्षा गरिएकामा गुनासो गर्नुभयो । सांसद प्रकाश रसाइली स्नेहीले करको बोझ बढ्दा स्थानीय तहमा नागरिक बस्न नसक्ने अवस्थामा पुगेको भन्दै कुन निकायले कस्तो कर उठाउने भन्नेमा सदनमार्फत जनतालाई जानकारी दिन सरकारसँग आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस