कर्णाली प्रदेश : निश्चित मान्छेको दलदलमा पार्टी फसेको माओवादी बैठककाे निष्कर्ष

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, ११ : १७
कर्णाली प्रदेश :  निश्चित मान्छेको दलदलमा पार्टी फसेको माओवादी बैठककाे निष्कर्ष

सुर्खेत ।  कर्णाली प्रदेशका दुई दिनदेखि चलेको नेकपा माओवादी केन्द्रको दोस्रो विस्तारित बैठक नेतृत्वको भारी आलोचना गर्दै सकिएको छ । शनिबार देखि आइतबारसम्म चलेको उक्त विस्तारित बैठकमा कार्यकर्ताले नेतृत्व तथा सरकारीमा सहभागी मन्त्रीको चर्को आलोचना गरेर सच्चिएर आउन चुनौती दिएका छन् । 

जनतासँग माओवादी भन्ने नारासहित तीन महिने विशेष अभियानलाई सफल बनाउनका लागि नेताहरूको वडास्तरसम्मकाे जिम्मेवारी विभाजन समेत गरिएको छ । भदौ १६ गते प्रदेशका सबै वडा–वडामा अभियानको उद्घाटन गरी सबै नेता तथा कार्यकर्ताहरु गाउँमा खटिनेछन् ।  केन्द्रले तयार गरेको लक्ष्य र उद्देश्यको जगमा टेकेर ठोस कार्य योजना तयार भएको र सोहीअनुसार सबै नेता, कार्यकर्ता, सङ्गठनलाई प्रशिक्षण गरिएको छ । 

बैठकमा सहभागीहरूले समग्रमा पार्टी निश्चित मान्छेको दलदलमा फसेको, पार्टी र सत्ताको तालमेल नभएको कुरा उठाएका थिए । तीनवटै सत्ता निर्देशित हुने, माओवादीको नेतृत्वमा रहेका स्थानीय तहमा  एउटा नमुना काम गर्ने, तोकेको फिल्डमा नेता, कार्यकर्ता जानै पर्ने, भ्रष्टाचारप्रति मुख्यमन्त्री र संघीय मन्त्री पनि निर्मम हुनुपर्ने र उत्पादनलाई श्रमसँग जोडेर पार्टी कार्यकर्ताको आर्थिक भविष्य सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।

ऊर्जामन्त्री तथा उपमहासचिव समेत रहेका नेता शक्तिबहादुर बस्नेतले सरकारले थालेको सुशासनको विषयमा नेता, कार्यकर्तालाई जानकारी गराएका थिए । साथै उनले ऊर्जाका क्षेत्रमा गर्न लागेका कार्य र माओवादीले अघि सारेको समाजवादको आधार र समाजवादी मोर्चाको आधार निर्माणका विषयमा कुरा राखेका थिए । पूर्व मुख्यमन्त्री एवं नेता महेन्द्रबहादुर शाहीले पार्टीभित्र विभिन्न सिमा समस्याहरू रहेको र ती समस्याहरू तीन महिने अभियानले हल गर्ने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री राजकुमार शर्माले रोजगारीका कुरालाई सरकारले अघि सारेको र कर्णाली निर्माणमा आफू अग्रसर भइरहेको जवाफ दिएका थिए । भोलि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । सोमबारको पार्टी प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । गुटबाट माथि उठी जनताको काममा लाग्न र पार्टी निर्माणको दिशा तर्फ केन्द्रीत हुन कार्यक्रताले दबाब दिएका थिए ।