संसदको जारी अवरोध खुलाउने प्रयासः राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, ०६ : ४२
संसदको जारी अवरोध खुलाउने प्रयासः राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै

File pic

काठमाडौँ । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलको बैठक सोमबार पनि बस्ने भएको छ । 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि सोमबार पुनः बस्न लागेको हो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उक्त बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याएको थियो । 

संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताउनुभएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आइतबार गम्भीर र एजेण्डा केन्द्रित रहेर छलफल भएको बताउँदै सम्भवतः सोमबारको बैठकमा सहमति हुने विश्वास व्यक्त गरे । 

सदनमा निरन्तर अवरोध हुँदा राष्ट्रिय महत्वका विभिन्न विधेयकमा छलफल हुन नपाएको तथा मुलुकका सामू देखा परेका समस्याका बारेमा समेत सांसदहरुले धारणा राख्न नपाएको भन्दै आफूहरुले तत्काल बैठक चल्नुपर्ने धारणा राखेको सभापति लामिछानेको भनाइ छ । 

बैठकमा प्रधानमन्त्रीले राज्यका निकायले गर्ने काममा सबैले साथ र सहयोग गर्नुपर्ने र त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि अर्को समिति तत्काल आवश्यक नपर्ने बताएका थिए । 

तर, एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको माग कायमै रहेको बताए । उनले सदनको अवरोध खुलाउन आफूहरु तयार भएपनि सरकारको तर्फबाट ल्याउने कार्यसूची अगाडि बढाउन भने तयार नरहेको सङ्केत गरे ।

 सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध  गर्दै आएको छ । यहीबीचमा मंगलबारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समेत सर्वदलीय बैठक बोलाएका छन् ।