राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक अवस्थाको विवरणमा के छ ? (पूर्णपाठसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १५ : ०५
राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक अवस्थाको विवरणमा के छ ? (पूर्णपाठसहित)

काठमाडौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रकाशित गरेको छ । १२ महिनाको तथ्यांकका आधारमा सरकार महंगी नियन्त्रणमा असफल देखिएको छ ।

वैदेशिक सम्पत्ति र दायित्व घाटामा छ । गत आर्थिक वर्ष मुलुकले ८ प्रतिशत नजिकको महंगीको सामना गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । महंगी सात प्रतिशतमा सिमित राख्ने गरी बजेटले लिएको लक्ष्य असफल भएको छ ।

१२ खर्ब भित्रियो रेमिट्यान्स

आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

१५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ सञ्चिति छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । । आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

साँघुरिदै चालू खाता घाटा

आर्थिक वर्ष २०७९/८० मा चालू खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

वैदेशिक सम्पति र दायित्व करिब ७५ अर्ब घाटामा

२०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकमा सरकारको ७१ अर्ब नगद

२०८० असार मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा ७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।