अमेरिकामा विदेशी विद्यार्थीलाई कडाइ, स्टुडेन्ट स्टेटस उल्लंघन गरेकै दिन गैरकानूनी ठहरिइने

एजेन्सी

सोमबार, २८ साउन २०७५, १७ : ४५
अमेरिकामा विदेशी विद्यार्थीलाई कडाइ, स्टुडेन्ट स्टेटस उल्लंघन गरेकै दिन गैरकानूनी ठहरिइने

काठमाडौं । अमेरिकाले अन्य देशबाट आएका विद्यार्थीका लागि नीति कडा बनाएको छ । अब उनीहरूको भिसा अवधि नसकिएको भएपनि स्टुडेन्ट स्टेटस उल्लंघन गरेको भोलिपल्टैबाट विद्यार्थी र उनको परिवार अमेरिकामा अवैध ठहरिनेछन् ।

नयाँ व्यवस्था बिहीवारदेखि लागू भएका छन् ।  यसअघि जुन दिन दोष साबित हुन्थ्यो वा आप्रवासी मुद्दामा न्यायाधीशले आदेश जारी गर्थे, त्यो दिनदेखि अमेरिकामा बसेको अवैध ठहरिन्थ्यो ।

नयाँ नियमअनुसार, अमेरिकामा १८० दिनसम्म अनधिकृत रूपमा बस्ने विद्यार्थीलाई निकालिएपछि फेरि अमेरिका आउन १० वर्ष रोक लगाइनेछ ।

कुनै विद्यार्थीले कलेजमा पूरा समय नदिएमा स्टुडेन्ट स्टेटसको नियम उल्लंघन गरेको ठहरिनेछ । पढाइ सकिएपछि पाइने ग्रेस पिरियडभन्दा बढी अमेरिकामा बस्दा वा अनधिकृत रूपमा जागिर खाँदा पनि कारवाही भोग्नुपर्छ । अमेरिकामा पढ्न गएका विद्यार्थी उतै लुक्न थालेपछि सरकारले कडा कदम चाल्न थालेको हो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस