रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १३ : ३२
रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

बुटवल। रुपन्देही प्रहरीले दुई दिनमा ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रवार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरेर ल्याएका विविध सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।जसमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामग्री बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नम्बरको ट्रकबाट भन्सार छलेर ल्याइएको कपडा १ हजार ५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस, लेङ्गा ५ पिस, पेटीकोट ६ पिस, सल २७ पिस, लुङ्गी १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

यस्तै, बिहीवार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय बराबरको सामान बरामद भएको छ । एसपी विकका अनुसार इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नम्बरको पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला १ बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा नियन्त्रणमा लिइएको हो ।

 

यस्तै, प्रहरीले ट्रक चालक स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४० वर्षीय लालबहादुर विक, पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय संगितकुमार खरबिनलाई पनि नियन्त्रणमा लिएको छ ।

बरामद सामान र सवारी साधनसहित उनीहरूलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।​

गैरकानूनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपी भरतबहादुर विकले बताएका छन् । अवैध रुपमा हुने गतिविधिलाई निरूत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस