गर्भवतीको मृत्युपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार क्षतिपूर्ति

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, २१ : ११
गर्भवतीको मृत्युपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार क्षतिपूर्ति

चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारको क्रममा एक गर्भवतीको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई तिरेको छ ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच शनिबार भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएको वार्ताका एक सहभागीले बताए ।भरतपुर महानगरपालिका वडा नं. २६ कि ३५ वर्षीया नविना महतोको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार उपचारका लागि ल्याइएकी नविनालाई शुक्रबार राति १ बजे अस्पतालले मृत घोषणा गरेको थियो । बच्चा जन्मिएपछि साल निकाल्दा अधिक रक्तश्राव भएको जानकारी गराएको पति मणिकलालले बताए ।

साल पाठेघर घरमा टाँसिएको भन्दै चिकित्सकले अधिक रक्तश्राव रोक्न नसकिएकाले पाठेघर नै फालेर बिरामी बचाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । पाठेघर निकालेपछि उनको शरीरको विभिन्न भागबाट रक्तश्राव (बीआईसी)भएर उनको मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त र छिमेकीले अस्पतालमा आन्दोलन गरेपछि दुबै पक्ष बीच सहमति गरिएको हो । मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजार रुपैयाँको चेक पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस