लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १२ : ३२
लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण

लमजुङ । जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस