लोडसेडिङ छैन र हुँदैन, सकेसम्म साँझ र बिहान खपत कम गर्नुस् : प्राधिकरण

विहीबार, ०६ पुस २०७४, १५ : ३१
लोडसेडिङ छैन र हुँदैन, सकेसम्म साँझ र बिहान खपत कम गर्नुस् : प्राधिकरण

चितवन । नेपाल बिद्युत प्राधिकरणले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ नभएको बताएको छ । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ ।

अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणका  कार्कारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

‘विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छ, घोषित/अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ गरिएके छैन ।’ प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्राविधिक समस्याका कारण कहिं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको जानकारी दिएको छ ।

यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सर्फमरको क्षमता बढाई समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको प्राधिकरकण बताउँछ ।

‘हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा हामीसँग उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध छ,’ बिज्ञप्तीमा भनिएको छ ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आˆना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ ।

यसबाहेक नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गरिएको छ ।

माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस