सडक ऐन संशोधन गरेर वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १५ : २८
सडक ऐन संशोधन गरेर वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताएका छन् ।काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू मन्त्री हुनेबित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताए ।

अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उनले बताए। 

मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको जानकारी दिए ।

उनले सडक सुरक्षा मापदण्ड बनाउने विषयमा गम्भीर भएर छलफल भइरहेको र भौतिक यातायात तथा पूर्वाधारमन्त्रीकै अध्यक्षतामा रोड सेफ्टी काउन्सिल गठन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस