महिला विश्वकप : दुर्लभ कीर्तिमानबाट चुकिन् क्यानडाकी क्रिस्टिन

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १२ : ५१
महिला विश्वकप : दुर्लभ कीर्तिमानबाट चुकिन् क्यानडाकी क्रिस्टिन

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा नाइजेरियाले क्यानडालाई गोलरहित बराबरीमा रोकेको छ । समूह ‘बी’ को उक्त खेल बराबरीमा सकिएपछि दुवै टोलीले अंक बाँडेका छन् । 

 

सो खेलमा क्यानडाकी क्रिस्टिन सिनक्लियरले पनि एउटा गतिलो अवसर गुमाएकी छन् । खेलको ५१औं मिनेटमा क्यानडाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पेनाल्टी प्रहारका लागि अनुभवी खेलाडी क्रिस्टिन आएकी थिइन् । तर, उनले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न सकिनन् ।

 

क्रिस्टिनले गरेको पेनाल्टी प्रहारलाई नाइजेरियाकी गोलरक्षक चिमाका एन्डोजीले विफल पारेकी थिइन् । पेनाल्टीमा गोल गरेकी भए क्रिस्टिनले विश्वकप फुटबलको इतिहासमा एउटा गतिलो कीर्तिमान बनाउने थिइन् । ४० वर्षीया स्ट्राइकर क्रिस्टिनले अब त्यसका लागि कम्तिमा पनि अर्को खेलसम्मका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ । पेनाल्टी प्रहारको अवसरलाई सदूपयोग गरेको भए क्रिस्टिन विश्वकपको ६ वटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्ने थिइन् । 

यसअघि क्रिस्टिनले पाँचवटा विश्वकपमा क्यानडाका लागि गोल गरेकी थिइन् । हालसम्म महिलामात्र होइन, पुरुष विश्वकपमा पनि कुनै खेलाडीले ६ वटा संस्करणमा गोल गर्न सकेका छैनन् । क्रिस्टिनले सन् २००३ मा सम्पन्न महिला विश्वकपको चौथो संस्करणमा जर्मनीविरुद्घ पहिलो पटक गोल गरेकी थिइन् । उक्त विश्वकपमा उनले तीन गोल गरेकी थिइन् । त्यसपछि सन् २००७ मा सम्पन्न पाँचौं महिला विश्वकपमा पनि उनले तीन गोल गरेकी थिइन् ।

सन् २०११ मा सम्पन्न छैटौं विश्वकपमा क्रिस्टिनले एक गोल गरेकी थिइन् । सन् २०१५ मा सम्पन्न सातौं विश्वकपमा उनले दुई गोल गरेकी थिइन् । सन् २०१९ मा सम्पन्न आठौं विश्वकपमा पनि उनले एक गोल गरेकी थिइन् ।उनी अहिले क्यानडाको राष्ट्रिय टोलीकी कप्तान पनि हुन् । उनले हालसम्म क्यानडाका लागि तीन सय २४ खेल खेलेर एक सय ९० गोल गरिसकेकी छन् । उनी पाँचवटा विश्वकपमा गोल गर्ने विश्वकै तीन खेलाडीमध्ये एक हुन् । 

हाल अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको नवौं संस्करणमा गोल गर्न सफल भएमा उनी लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछिन् । क्रिस्टिनका अतिरिक्त हालसम्म ब्राजिलकी मार्टा र पुरुष विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र पाँचवटा विश्वकपमा गोल गर्न सकेका छन् । 

समूह ‘बी’ तालिकामा आयोजक अस्ट्रेलिया तीन अंकसहित पहिलो स्थानमा छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई १—० गोलले हराएको थियो । क्यानडा एक अंकसहित दोस्रो र नाइजेरिया एक अंकसहित तेस्रो स्थानमा छन् । 

पहिलो खेलमै पराजित भएको आयरल्यान्ड भने अंक तालिकाको चौथो स्थानमा छ । क्यानडाले अब आफ्नो दोस्रो खेल २६ तारिखमा आयरल्यान्डसँग खेल्नेछ । क्यानडाले तेस्रो खेल ३१ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ । यसका अर्थ क्रिस्टिनसँग अझै पनि इतिहास रच्ने अवसर बाँकी छ ।

प्रतिक्रिया दिनुहोस