सार्वजनिक यातायातको भाडा घट्यो, आजैदेखि लागू हुने

सफल खबर संवाददाता

सोमबार, ०१ साउन २०८०, १२ : ४८
सार्वजनिक यातायातको भाडा घट्यो, आजैदेखि लागू हुने

काठमाडौं । सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएसँगै यातायातको भाडादर घटेको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईले दिएको जानकारी अनुसार घटाईएको भाडादर आजदेखि नै लागू हुनेछ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको छ । यसैलाई आधार बनाएर सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस