पहुँचविहीन कर्मचारी विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री मोदी

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, २१ : ३६
पहुँचविहीन कर्मचारी विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री मोदी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँचविहीन कर्मचारीहरु विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । 

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान सञ्चालक समितिको २३ औँ बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले राज्यले खटाएको ठाउँमा पुगेर सेवा प्रवाह गर्ने २० प्रतिशत कर्मचारी अन्यायमा रहेको बताएका हुन् ।

ससोर्सफोर्स लगाउन नसक्ने पहुँच नभएका कर्मचारीको सधैँ विकट क्षेत्रमा सरुवा हुने र जागिर अवधिभर उनीहरु विकट क्षेत्रमै रहनुपर्ने अन्यायमा २० प्रतिशत कर्मचारी रहेको मन्त्री मोदीको भनाई थियो । पहुँच नभएकै कारणले अन्यायमा रहेका ती कर्मचारीहरुलाई न्याय दिलाउने हिसाबले आफूले सरुवा प्रणालीको विकास गर्न खोजेको मन्त्री मोदीको भनाई छ । 

“राज्यले खटाएको ठाउँमा पुगेर सेवा प्रवाह गर्ने कर्मचारीहरुको बारेमा सरकारले विशेष ध्यान दिएर सरुवा प्रणाली व्यवस्थित बनाउनुपर्छ भन्ने हाम्रो सोच छ” मन्त्री मोदीले भने । कोही कर्मचारी सधैँ विकटको विकट र कोही सुगमको सुगममा अब रहन नसक्ने उनको भनाई छ ।

विकट क्षेत्रमा रहेर सेवा प्रवाहमा खटिएकालाई सुगममा र सुगममा रहेकालाई विकट क्षेत्रमा खटाउनेगरी आफूले सरुवालाई व्यवस्थित बनाउन खोजेको मन्त्री मोदीको भनाई छ । त्यस्तै मन्त्री मोदीले ८० प्रतिशत कर्मचारी भने सोर्सफोर्स लगाएर कमाउ अड्डामा जाने गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस