मनाङमा मनाइयो मितेरी पर्व

रासस

शनिबार, ३० असार २०८०, १६ : २९
मनाङमा मनाइयो मितेरी पर्व

मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । छेटु मेला सकिएपछि मितेरी लगाउने चलन छ । गुफामा पुगेर आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ । मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताइन् ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ । छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले बताए । उनले भने, ‘लामाले पुजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ ।’ भगवानलाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ । यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरुको विश्वास छ ।

मित्रताको प्रतीकका रुपमा मिलेरेपा गुफालाई लिइन्छ । परापूर्वकालमा राजाले सिकार खेल्दै जाँदा मिलेरेपासँग भेट भएर हत्या, हिंसाको अन्त्य गर्न सफल भएको किम्वदती छ ।

प्रतिक्रिया दिनुहोस