एमाले सचिवालय बैठक : नेताहरुको जिम्मेवारीबारे समीक्षा हुँदै

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १४ : ३५
एमाले सचिवालय बैठक  : नेताहरुको जिम्मेवारीबारे समीक्षा हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा शुरु भएको छ । एमाले उच्च स्रोतका अनुसार डेढ महिना अघि विभिन्न जिम्मेवारी तोकिएका केन्द्रीय सदस्यहरुको कार्य प्रगतिबारे समीक्षा गर्न सचिवालय बैठक राखिएको हो । गएको जेठ १९ गतेको सचिवालय बैठकले विभिन्न नेताहरुले विगतमा समाल्दै आएको जिम्मेवारी  व्यापक रुपमा हेरफेर गरेको थियो  बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी फेरिएको छ ।

नेताहरुले साविक सम्हालेका भूगोलका जिम्मेवारीलाई हेरफेर गरिएको हो । उपाध्यक्षहरुलाई विभिन्न विभागको संयोजन गर्ने, उपमहासचिवहरुलाई तोकिएको विभागलाई प्रभावकारी बनाउने र सचिवहरुलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै स्थायी र पोलिटव्यूरो सदस्यहरुलाई साविक भन्दा फरकको जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज तोकिएको छ ।  मिसन २०८४  अभियान चलाएर आउँदो निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरेको एमालेले लक्ष्य प्राप्तिको लागि नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । आजको सचिवालय बैठकमा त्यसबारे समेत समीक्षा हुने भएको छ । 

स्रोतका अनुसार आजको बैठकमा नेताहरु खटाइएको जिम्मेवारीमा पुगे नपुगेको, नयाँ भूगोलमा पुगेका नेताहरुले पार्टीको अवस्थाका बारेमा पाएको प्रारम्भिक जानकारी के कस्तो छ ? पार्टी निर्माणको काम कहाँबाट शुरु  भएको छ ?  आदि विषयमा सम्बन्धित प्रदेशका इन्चार्जहरुले रिर्पोटिङ गर्ने कार्ययोजना छ । 

नेताहरुले आफूले जिम्मेवारी पाएको ठाउँमा भोग्नु परेका समस्या बारे समेत  बैठकमा छलफल हुने भएको छ । एमाले पार्टी सदस्यता नविकरणका लागि असार मसान्तसम्मको म्याद तोकेको छ । सदस्यता नविकरण प्रगतिबारे बैठकमा महासचिव शंकर पोखरेलले जानकारी गराउने कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार आजको बैठकमा विभिन्न विभागहरुमा सदस्य मनोनयन गर्ने कार्यसूची समेत राखिएको छ । 

आजको बैठकमा साउन ७ गते पुष्पलाल स्मृति मनाउने बारे समेत छलफल र निर्णय हुनेभएको छ । 

प्रतिक्रिया दिनुहोस