आज पहिलो साउने सोमवारको व्रत गरिँदै

सफल खबर संवाददाता

सोमबार, २५ असार २०८०, ०६ : ३३
आज पहिलो साउने सोमवारको व्रत गरिँदै

काठमाडौ । चान्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवार गरिँदैछ ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार २ वटा सोमवारपछि अधिकमास शुरू हुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमवार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमवार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्व अध्यक्ष समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । 

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमवारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिवार र सोमवार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । 

चान्द्रमास अनुसारको पहिलो शनिवार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशंकर पराजुलीले बताए ।

साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस