काठमाडौं । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।
संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए ।
‘बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको’, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ ।
ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट रु ४५ लाख बराबरको क्षति पुर्याएको जनाएको छ ।आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा-७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।
बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए ।
हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत रु तीन अर्ब ६० करोड अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ असार २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतको बानीडाँडामा बाढी, विद्यालय भवनमा क्षति
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १३० जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १३० जनाको मृत्यु
आज यी जिल्लाका नदीमा बाढीको जोखिम
बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध