बागमती प्रदेशसभाको अवरोध हट्यो

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १५ : ०२
बागमती प्रदेशसभाको अवरोध हट्यो

काठमाडौं । सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिवद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।

लगत्तै सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताए । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताए । उनले भने, ‘यो यो योजना समेटिएन भन्ने महसुस भयो । जिल्ला, क्षेत्र, गाउँ, वडा जहाँ असन्तुलित भयो, बजेट पास गर्नुभन्दा अगाडि त्यहाँ व्यवस्थित गर्छौं भन्ने प्रतिवद्धता आएको छ ।’

प्रदेशसभाबाट बजेट पास गर्नुअघि नै मन्त्रिपरिषद्ले बजेट सच्याएर ल्याउने सहमति भएको भन्दै उनले सरकारले आफ्नो प्रतिवद्धता पालना गरोस् भनेका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि सरकारलाई विश्वास गरेर आफूहरुले सदनको अवरोध हटाएको बताए । ‘अब बल सत्तापक्षको खुट्टामा गएको छ, सत्तापक्षले सही ढंगले प्रयोग होस् भन्न चाहन्छौं’, उनले अगाडि भने, ‘गलत भयो भने रेफ्री हुन्छन्, हामीले गर्ने गतिविधिमा कुनै कुरा बाँकी राख्दैनौं ।’

प्रतिक्रिया दिनुहोस