देशभरका कानून व्यवसायी आन्दोलित, आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, ०७ : ४९
देशभरका कानून व्यवसायी आन्दोलित, आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

काठमाडौ । नेपाल बार एशोसिएशनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानून व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा असार १८ गते देशैभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानून व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले आन्दोलन घोषणा गरेको हो ।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने समेत गरेको छ ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतवार ३ घण्टा काम नगरी विरोध जनाएका थिए ।

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस