आज हरिशयनी एकादशी, तुलसीको पूजाआराधना गरिँदै

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, ०७ : १२
आज हरिशयनी एकादशी, तुलसीको पूजाआराधना गरिँदै

काठमाडौ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर ४ महिनासम्म गरिने विशेष पूजा आराधना आज बिहीवारदेखि शुरू हुँदैछ । 

१ महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । 
 
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने ४ महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले ५ महिना हुने भएको छ ।
 
१ वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका २ समेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका ४ महिनामा पर्ने ८ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । 
 
हरिशयनी एकादशीका अवसरमा आज बिहीवार बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका ४ नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । 

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ ।
 
४ महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ ।
 

प्रतिक्रिया दिनुहोस