अतिरिक्त शुल्क फिर्ताको माग गर्दै लुम्बिनी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १५ : ३८
अतिरिक्त शुल्क फिर्ताको माग गर्दै लुम्बिनी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । अतिरिक्त शुल्क फिर्ताको माग गर्दे पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।कलेजले इन्टर्नसीप तथा अन्य अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूले इन्टर्नसीपको पैसा समेत बढाउनुपर्ने माग राख्दै आएका छन् ।  

२०७४ सालमा भर्ना भएका एमबीबीएसका विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् ।  कलेजले इन्टर्नसीप शुल्क २ लाख, विश्वविद्यालय सम्बन्धन शुल्क ९५ हजार ८००, कक्षा बढुवा शुल्क (क्लास प्रमोशन फि) ७५ हजार, विश्वविद्यालय परीक्षा शुल्क ४२ हजार लिएको छ ।

 

यो शुल्क विद्यार्थीहरूले भर्ना हुँदा नै तिरेका थिए । त्यो बेला आफूहरूले ४७ लाख ९० हजार रुपैयाँ शिक्षण शुल्क तिरेको विद्यार्थीहरूले बताएका छन् । त्यसका अतिरिक्त इन्टर्नसीप शुल्क लगायतको अतिरिक्त शुल्क लिएको थियो । 

चिकित्सा शिक्षा आयोग आएपछि सम्पूर्ण शुल्क समायोजन हुने भनेर ४२ लाख ४५ हजार शुल्क तोकेको थियो । त्यो बेला कलेजले ४७ लाख ९० हजारलाई समायोजन गरेर ४२ लाख ४५ हजार तोकेको थियो । तर, कलेजले लिएको अतिरिक्त शुल्क भने समायोजन गरेको थिएन । 

 

एमबीबीएसको परीक्षा दिएर विद्यार्थीहरू इन्टर्नसीपको तयारी गर्दैछन् । त्यहिबेला विद्यार्थीहरूले विगतमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेका हुन् । तर, कलेजले भने कुनै पनि हालतमा शुल्क फिर्ता नहुने अडान लिइरहेको छ । अहिले ५० जना विद्यार्थीहरू विगत ६ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा छन् । उनीहरूले चिकित्सा शिक्षा आयोगको समेत ध्यानाकर्षण गराएका छन् । 

यो खालको अतिरिक्त शुल्क आफ्नो र एक जुनियर ब्याचबाट लिएको एक विद्यार्थीले बताए । ‘हाम्रो (२०७४) र २०७५ मा भर्ना भएको जुनियर ब्याचबाट अतिरिक्त शुल्क लिएको पाइएको छ । त्यो बाहेक त अन्य सबैसँग आयोगले तोके अनुसार नै लिएको पाईएको छ’ ती विद्यार्थीले रातोपाटीसँग भने । यो विषयमा कलेज प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत नमानेको विद्यार्थीहरूको भनाई छ । 

काठमाडौँ विश्वविद्यालय अन्तर्गतको उक्त कलेजमा चैत–वैशाख मसान्तमा अन्तिम वर्ष लिएको परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले असार ५ गतेबाट इन्टर्नसिप सुरु गर्नुपर्ने थियो । तर, विद्यार्थीहरूले अतिरिक्त शुल्क फिर्ता नभएसम्म इन्टर्नसिप नगर्ने अडान विद्यार्थीहरूको छ । 

 

कलेजले धम्की दिएको आरोप: 

कलेज परिसरमै प्लेकार्ड बोकेर आन्दोलनमा रहेका विद्यार्थीहरूलाई धम्की आउन थालेको बताएका छ । कलेज प्रशासनबाट तारन्तार धम्की आइरहेको विद्यार्थीहरूको भनाई छ । कलेजले धम्क्याउने र जे गर्नुछ गर्नु भन्ने जवाफ दिने गरेको ती विद्यार्थीको भनाई छ । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई कलेजले इन्टर्नसीप नै गराउन पाउँदैनौ भनेर धम्की दिइरहेको ती विद्यार्थीले बताए । 

कलेज प्रशासनले कलेजको कार्यविधि अनुसार नै शुल्क लिएको दाबी गरेको छ । तर, चिकित्सा शिक्षा आयोग आइसकेपछि आयोगको कार्यविधि अनुसार नै शुल्क लिनुपर्ने विद्यार्थीहरूको अडान छ । कलेज र आयोगको कार्यविधि बाझिएको खण्डमा आयोगको कार्यविधि लागू हुने कानूनी प्रावधान छ । 

सोही आधारमा विद्यार्थीहरूले कलेजले बढी शुल्क लिएको र उक्त शुल्क फिर्ता हुनुपर्ने विद्यार्थीहरूको अडान छ । तर, कलेज प्रशासन भने कुनै पनि हालतमा फिर्ता नहुने बताउँछ । आयोग आउनु पहिलाको व्यवस्था अनुसार नै शुल्क लिएको कलेजको दाबी छ । कलेजका प्रिन्सिपल डा राजुप्रसाद शाक्यले पाँच वर्षको अगाडि कुरालाई लिएर विद्यार्थीहरूले निहू खोजिरहेको बताए । 

 

‘म यहाँ आएको दुई वर्ष जति भयो । पाँच वर्ष अघि भर्ना भएका विद्यार्थीहरूको कुरा रहेछ । त्यो बेला त्यही आधारमा निर्णय गरेर शुल्क तोकिएको रहेछ,’ प्रिन्सिपल शाक्यले भने, ‘पछि आयोगको नियम अनुसार नै अगाडि बढिरहेका छौं । विद्यार्थीहरूले त्यो बेलाको कुरालाई लिएर अनावश्यक आन्दोलन गर्दै आएका छन् ।’ एमबीबीएसको परीक्षा दिएर पास भएका विद्यार्थीहरूले इन्टर्नसीपको बेला अनावश्यक निहु खोजेको उनको आरोप छ । 

‘परीक्षा दिएर पास भइसकेका विद्यार्थीहरूलाई बधाई दिन बोलाएका थियौं । त्यही दिन अब केही दिनबाट इन्टनसीप सुरू हुन्छ भनेर भनेका थियौं,’ प्रिन्सिपल शाक्यले भने, ‘त्यही बेला १५÷२० जना विद्यार्थी आएर त्यो पैसा फिर्ता भएपछि मात्रै इन्टर्नसीप गर्ने भनेर गए ।’त्यो विद्यार्थीसँगै अभिभावकहरूलाई बोलाएर शुल्क लिइएको उनको भनाई छ । इन्टर्नसीपको लागि लिइएको शुल्क विद्यार्थीहरूलाई इन्टर्नसीप गराएर फिर्ता गराउन लागेको उनले बताए । 

कलेज प्रशासनबाट विद्यार्थीहरूलाई कुनै प्रकारको पनि धम्की नदिएको उनले बताए । धम्की दियो भनेर कलेज प्रशासन र कलेजको बदनाम गराउने काम गरेको उनको भनाई छ । ‘विद्यार्थीहरूले अनावश्यक माग राखेर उल्टै कलेजको बदनाम गराइरहेका छन् । हामीहरूले त झन् जति सक्दो चाँडो इन्टर्नसीप गर्न सकियो त्यति विद्यार्थीहरूलाई नै राम्रो हुने भन्दै आएका छौं,’ प्रिन्सिपल शाक्यले भने ।  

प्रतिक्रिया दिनुहोस