नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १४ : ४२
नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

काठमाडौँ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गरेको बताइन् ।

 

उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन् । नेता शर्मा अझै आमरण अनसनमै नै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् । 

 

डिस्चार्ज भएमा  पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । माइतीघरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाउन दिइएन । पानीमा रुझ्दै भिज्दै अनसनलाई निरन्तरता दिएको कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन् ।

 

संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए । 

प्रतिक्रिया दिनुहोस