प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछिको नाम नेपाल प्रेस संगठन रहने

बुधबार, १६ साउन २०७५, १४ : १४
प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछिको नाम नेपाल प्रेस संगठन रहने

काठमाडौँ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ ।

यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप दिएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

संगठनले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ । विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुनेछ ।

यसैगरी, अनुशासन आयोगका अध्यक्ष र सचिवसहित १५, १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया दिनुहोस