काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइरालाले चिकित्सा शिक्षाको सन्दर्भमा गम्भीर बहसको आवश्यकता रहेको बताएका छन् । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका डा. कोइरालाले राष्ट्रिय चिकित्सा ऐन २०७५ मा धेरै त्रुटिहरु रहेको उल्लेख गरे । काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित कार्यक्रममा उनले आफ्नै १ सय शैया भएका अस्पतालले मात्रै नर्सिङ कार्यक्रम सञ्चालन गर्नसक्ने गरी ऐनमा गरिएको व्यवस्थामाथि पनि प्रश्न उठाए ।
नेपाली नर्सहरु विदेशिने क्रम ठूलो समस्याका रुपमा रहेको भन्दै उनले ऐन प्रक्रियामुखी भएको भन्दै यसका लागि सरकार उदार हुनुपर्ने उल्लेख गरे । नेपालमा नर्सिङ शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन चिकित्सा शिक्षा आयोगलाई दबाब दिइनुपर्ने भन्दै डा. कोइरालाले ऐनले व्यवस्था गरेको परीक्षा लिने तौरतरिकामा पनि सुधार हुनुपर्ने उल्लेख गरे ।
त्यसैगरी, कार्यक्रममा संसदको स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि समितिकी सदस्य सांसद विद्या भट्टराईले चिकित्सा शिक्षा ऐन बनाउँदा सरोकारवालाहरुसँग पर्याप्त छलफल हुन नसकेको स्वीकार गरिन् । उनले ऐनमा केही कमिकमजोरी भए थप छलफल तथा बहस गर्न सकिने भन्दै नर्सिङ जनशक्ति विदेशिएको विषयमा आफूहरुले सरकारको ध्यानाकर्षण गराइरहेको बताइन् । चिकित्सा शिक्षा ऐनमा भएका त्रुटिबारे समितिमा बारम्बार छलफल भइरहेको भन्दै सांसद भट्टराईले चिकित्सा शिक्षा आयोगसँग पनि थप छलफल आवश्यक रहेको बताइन् ।
त्यस्तै, कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारको नियन्त्रणमुखी कार्यशैलीका कारण पनि नर्सिङ शिक्षाको क्षेत्रमा समस्या आएको बताए । सरकारले नर्सिङ शिक्षामा सहयोगमुखी कार्यशैली अपनाउनुपर्ने भन्दै ऐनमा त्रुटि भए त्यसको पुनरावलोकन हुनुपर्ने धारणा राखे । उनले समग्र नर्सिङ क्षेत्रलाई प्रभावकारी बनाउन छुट्टै नर्सिङ आयोग गठन हुनुपर्ने पनि उल्लेख गरे । सरकारले नर्सिङ क्षेत्रका समस्यालाई अबिलम्ब सम्बोधन गर्नुपर्ने भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नर्सहरुको सामाजिक सुरक्षामा पनि ध्यान दिइनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १९ : ४६
लेखकबाट थप