प्रधानमन्त्री ओलीलाई कारवाही गर्न तनहुँ पुगेर रामचन्द्र पौडेलले मागे जनताको साथ

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १६ : ३९
प्रधानमन्त्री ओलीलाई कारवाही गर्न तनहुँ पुगेर रामचन्द्र पौडेलले मागे जनताको साथ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योग्यतामा प्रश्न उठ्ने गरी प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गर्ने संवैधानिक परिषद् र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने  बताएका छन् ।

सरकारको विरोधमा तनहुँमा मंगलबार आयोजित सभालाई संवोधन गर्दै नेता पौडलले सुनुवाइ समितिको नाममा जोशीको पदलाई धरापमा पारिएको बताए । उनले भने, जोशीलाई प्रधानन्यायाधीशमा गरेको सिफारिस सुनुवाइ समितिको नाममा उल्टाउने हो भने संवैधानिक परिषद्लाई कारबाही गर्नुपर्छ । केपी ओलीलाई कारबाही गर्नुपर्छ । सभामुखलाई गर्नुपर्छ । संवैधानिक परिषद्का सबैलाई निष्कासित गर्नुपर्छ । के हेरेर उनलाई त्यहाँ पुर्‍याइयो ?

नेता पौडेलले अदालतमाथि अधिनायवादी हमला भइरहेको बताए । ‘सरकारले अधिनायकवादको प्रमाण देउ भनेको छ । सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ । योभन्दा  ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ ? पौडेलले भने,  ‘आज उनीहरुको हातमा दुई तिहाई दुरुपयोग भएर बादरका हातमा नरिवल हुँदैछ ।‘ स्टालिनका पालामा रुसमा सरकार, प्रशासन, अदालत सबै कम्युनिष्ट पार्टीको पोलिट्ब्यूरोले चलाउने गरेको उदारण दिँदै पौडेलले नेपालमा पनि त्यस्तै भएको बताए ।

सरकारले महँगी बढाएको, जथाभावी कर लिने गरेको र भ्रष्टाचार बढाउने काम गरेको उनको भनाइ छ । केपी ओली नारा लगाउनुहुन्छ, भ्रष्टाचार गर्दिनँ भनेर । तर उहाँकै छायाँमुनि भ्रष्टाचार भइरहेको छ उनले भने ।

सरकारका गलत प्रवृत्ति हटाउन अख्तियार, अदालत र आयोग कमजोर रहेकोले जनताले नै सरकारलाई सही बाटोमा हिँडाउनुपर्ने भन्दै उनले जन स्तरबाट सरकारको विरोध गर्न अग्रह गरे ।

प्रतिक्रिया दिनुहोस