लोसपाका अध्यक्ष महन्थ ठाकुर भारत जाँदै

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १५ : २२
लोसपाका अध्यक्ष महन्थ ठाकुर भारत जाँदै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुर भारत भ्रमणमा जाने भएका छन् । उनी आगामी जेठ २८ गते भारत जाने तयारीमा रहेको पार्टीका नेताहरूको भनाइ छ । अध्यक्ष ठाकुर भारत जानुअघि पार्टीको केन्द्रीय समिति, भ्रातृ संगठन गठनलगायतका काम सक्ने तयारी छ । 

लोसपा गठन भएको झण्डै दुई वर्ष हुन लागेको छ तर अझै सो पार्टीमा केन्द्रीय समिति बनेको छैन । यस्तै भ्रातृ संगठन पनि बनेको छैन । एउटा केन्द्रीय कार्यकारिणी समितिको भरमा पार्टी चलिरहेको छ । 

 

यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि भारत गएका थिए ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेर फर्केका छन् । यद्यपि सभापति लामिछानेले आफ्नो यो भ्रमण व्यक्तिगत रहेको दाबी गर्दै आएका छन् । यस्तै प्रधानमन्त्रीको पनि अफिसियल भ्रमण सम्पन्न भइसकेको छ । 

स्रोतका अनुसार भारतले तराई मधेसमा जनमत र लोसपालाई एक ठाउँमा ल्याउन चाहेको छ । तराई मधेसमा यी दुई दलबीच एकता वा गठबन्धनको चर्चाका बीच ठाकुरको भारत भ्रमण हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस