निर्माण व्यवसायीले भने–आयोजनाहरुको म्याद थप नगरे निर्माणको काम ठप्प पार्छौ

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १६ : ३७
निर्माण व्यवसायीले भने–आयोजनाहरुको म्याद थप नगरे निर्माणको काम ठप्प पार्छौ

काठमाडौँ । निर्माण व्यवसायीहरुले आगामी असार ४ गतेभित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमति अनुसार सबै आयोजनाहरुको म्याद थप नभए आफूहरु निर्माण कार्यनै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए । विगत लामो समयदेखि आफूहरुले राख्दै आएको सो माग पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै उनले आपत्ति जनाए ।  

 

अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई फेरि पनि खबरदारी गर्नु परेको स्पष्ट पारे ।  महासंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन अव पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ ।  

महासंघले नेपाल सरकारलाई आर्थिक भारलाई बढ्न नदिन र आयोजनाहरु अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरुको सो माग सम्बोधन गर्न गम्भीर ध्यानाकर्षण गराउनु परेको बताएका छ । सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा, आयोजनाहरुको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताए ।  

प्रतिक्रिया दिनुहोस