सभामुख र उपसभामुखको विषयमा अदालतको आदेशको प्रतिक्षा गर्दै काँग्रेस

आइतबार, १३ साउन २०७५, १५ : ५८
सभामुख र उपसभामुखको विषयमा अदालतको आदेशको प्रतिक्षा गर्दै काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि संसदमा सरकारलाई दवाव दिइरहने स्पष्ट पारेको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म प्रतिक्षा गरिरहने पार्टीको अडान पनि राखे ।

आईतबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन रहेकाले सो सम्बन्धमा संसदमा छलफल गर्न नमिल्ने जानकारी गराएका थिए ।  सोही सम्बन्धमा संचारकर्मीसँग टिप्पणी गर्दै काँग्रेस नेता बडुले आफूहरु पनि अदालतको आदेशको प्रतिक्षामा रहने प्रतिक्रिया दिए । उनले संसदमा भने सो एजेन्डा नछाडेको सन्देश पनि दिइरहने योजना सुनाएका थिए ।

नेपाली काँग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एक पद छोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दवाव दिँदै आएको छ ।  काँग्रेसले सबै प्रदेशको प्रदेशसभामा पनि सभामुख र उपसभामुख मध्ये एक पद आफ्नो दलले पाउनुपर्ने संवैधानिक व्यवस्था रहेको तर्क गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस