विपद् उद्धारका लागि गोताखोर तयार

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १२ : ३४
विपद् उद्धारका लागि गोताखोर तयार

काठमाडौं । सरकारको उद्देश्यअनुरूप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो ।

यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गएको वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँचहप्ते गोताखोर तालिम दिएको हो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताए ।

सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म २७३ घटनामा ८०२ जनाको जीवितै उद्धार तथा ३१७ शव निकालेको उनले जानकारी दिए ।यसअघि, सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई यूएनडीपीको सहयोगमा बंगलादेशमा २०६९ वैशाखमा तीनमहिने गोताखोर तालिम दिलाएको थियो ।

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो ।यस्तै, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस