उत्तर कोरियाले सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १३ : २८
उत्तर कोरियाले सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने

एजेन्सी। उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका तथा उसका सहयोगीहरूको सैन्य कार्यक्रममा निगरानी गर्नेछ । 

उत्तरको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष री प्योङ चोलले जंगी तयारीलाई बलियो बनाउने प्रयासमा रक्षात्मक र आक्रामक हतियारमा सुधार ल्याउनु जरूरी भएको बताए। अमेरिकाले कोरियाली प्रायद्वीप तथा निकटवर्ती क्षेत्रमा हवाई जासूसी गरिरहेकाले त्यसको निगरानी गर्नुपरेको पनि उनले बताए । 

यसैबीच आफूले ३१ मेदेखि ११ जुनको बीचमा एउटा रकेट प्रक्षेपण गर्न लागेको भनी उत्तर कोरियाले जापानलाई सूचित गरेको छ । त्यसपछि उत्तर कोरियाले रकेट भने पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको योजना बनाइरहेको भन्दै जापानले चेतावनी दिएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उल्लंघन हुने र मानिसहरूको सुरक्षामा खतरा पुग्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस