कोहलीको शतकमा बैंग्लोर विजयी, प्लेअफमा पुग्ने सम्भावना कायमै

एजेन्सी

शुक्रबार, ०५ जेठ २०८०, ०७ : २२
कोहलीको शतकमा बैंग्लोर विजयी, प्लेअफमा पुग्ने सम्भावना कायमै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ४ वर्षपछि विराट कोहलीले शतक प्रहार गरेका छन्। विराटको शतकमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ।

जितसँगै बैंगलोर शीर्ष चारमा उक्लिंदै प्लेअफको सम्भावना कायम राखेको छ।

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिक क्लासेनको शतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य बैंगलोरले ४ बल बाँकी हुँदा २ विकेट गुमाएर पूरा गरेको थियो।

विराट कोहलीले सनराइजर्स हैदराबाद विरुद्ध सिजनमा आफ्नो पहिलो शतक प्रहार गरेका थिए। विराटको यो आइपिएलमा छैटौं शतक हो। उनले १९ अप्रिल २०१९ मा पछिल्लो पटक कोलकाता विरुद्ध शतक प्रहार गरेका थिए। त्यसअघि उनले २०१६ को सिजनमा ४ शतक प्रहार गरेका थिए। उनको उत्कृष्ट आइपिएल स्कोर १ सय १३ रन हो।

कोहली आइपिएलमा छैटौं शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। उनी अघि वेस्टइन्डिजका क्रिस गेलको नाममा ६ शतक रहेको छ। ५ शतक पछि जोस बटलर गेल र कोहली पछिको नम्बरमा रहेका छन्। विराटले २ सय ३६ खेलमा ६ शतक पूरागर्दा क्रिस गेलले १४२ खेलमा ६ शतक पुरा गरेका थिए। जोस बटलरले ९५ खेलमा ५ शतक लगाएका छन्।

आइपिएल इतिहासमा पहिलो पटक एकै खेलका दुई इनिङमानै शतक प्रहार भएको छ। पहिलो ब्याटिङ गर्दै हैदराबादका हेनरिकले पनि शतकीय इनिङ खेलेका थिए। उनी पछि विराटले जारी सिजनमा शतक प्रहार गर्ने ८ औ खेलाडी बने।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादका लागि हेनरिचले ५१ बलमा १०४ रन बनाएका थिए। त्यस्तै हेरी ब्रकले २७ रनको अविजित इनिङ खेलेका थिए। जवाफमा विराट र फाफ डुप्लेसिसले सानदार इनिङ खेले। उनीहरुले पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे। कोहली ६३ बलमा १०० रन बनाएर आउट हुँदा कप्तान डुप्लेसिस ४७ बलमा ७१ रन बनाएर पेभिलियन फर्किएका थिए। ग्लेन म्याक्सवेल ५ तथा मिचेल ब्रासवेल ४ रनमा अविजित रहे।

जितपछि बैंगलोर १३ खेलबाट १४ अङ्कका साथ चौंथो स्थानमा उक्लिएको छ। अब उसले अन्तिम खेलमा शीर्ष स्थानको गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाले बैंगलोरले प्लेअफमा स्थान पक्का गर्ने छ। जारी आइपिएलमा गुजरातले प्लेअफमा स्थान पक्का गर्दा अन्य तीन टिमका लागि भने रोमाञ्चक प्रतिस्पर्धा जारी छ।

प्रतिक्रिया दिनुहोस