अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन् : रवीन्द्र मिश्र

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १४ : १८
अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन् : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकाले कडा दबाब दिएका कारण मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठूला नेता पक्राउ परेको दाबी गरेका छन्।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट बिहीबार मिश्रले यो वर्तमान सरकारले आफ्नै मनले गरेको काम नभएको टिप्पणी गरेका हुन्।

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ– यो काण्डबारे द्रूत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचारविरोधी चेतनाको प्रतिफल हो’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो हो भने भ्रममा हुनुहुन्छ।’

कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआई’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन उनले आग्रह गरेका छन्।

मिश्रले अगाडि लेखेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस