प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १४ : ३४
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच शनिबार भेटघाट भएको छ । समसमायिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । यसअघि बिहीबार पनि ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गगरेका थिए । भेटका क्रममा भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाका बारेमा छलफल भएको थियो ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन । ओलीले भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई षड्यन्त्र पूर्वक समाउन खोजेको भन्दै घटना रहस्यमय भएको बताउँदै आएका छन।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नाम पनि बयानको क्रममा आएको र प्रहरीले त्यसलाई हटाएको एमाले स्रोतले दावी गरेको छ । खाणले पनि यस प्रकरणमा आफू संलग्न नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन । खाण गृहमन्त्री भएका बेलामा गृहसचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेसँगै खाणको भूमिकामाथि पनि प्रश्न उठेको हो ।

यस्तै, पूर्वगृहमन्त्री एवं एमालेकै नेताका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पनि पक्राउ परेका छन् । उनीसँगै बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । यस घटनामा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । यसमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस