अनसनरत डा. केसीको समर्थनका सैद्धान्तिक कारण

सोमबार, ०७ साउन २०७५, १३ : ४६
अनसनरत डा. केसीको समर्थनका सैद्धान्तिक कारण

सिद्धिचरण भट्टराई
डा. गोविन्द केसीलाई मैले प्रत्यक्ष देखेको छैन । तर यीनका आन्दोलनहरुले अलि अलि मेरो ध्यान आकर्षण गर्न थालेको गगन थापा मन्त्री हुँदा हो ।  एमाले पंक्तीमा उनलाई मनमोहन टिचिंग अस्पतालका बिरोधी ठानिँदो रहेछ जसले पुर्वाधार भएर पनि काठमाण्डौ मेडिकल कलेजको सम्बन्धन पाउनबाट बञ्चीत छ । पछिल्लो पटक जुम्लामा अनसन बसेका गोविन्द केसीका आधारभुत मागहरु र केदारभक्त माथेमाको अन्तरवार्ता पढेपछि मैले उनका मागहरु सैद्धान्तिक हिसावले निकै महत्वपूर्ण लागे । खासगरी संविधानको कार्यन्वयन र समाजबाद उन्मुख हाम्रो राज्य प्रणालीको स्वास्थ्य क्षेत्रमा जग बसाल्न उठाउनै पर्ने कुरा उनले उठाएको पाएँ । तर पनि हाम्रो दुईतिहाइको प्रगतिशिल वामपन्थी सरकारले उनको मागलाई सम्बोधन गर्ने भन्दा पनि प्रतिवेदनको मुटु झिकेर बोक्रो मात्र बोकेर बिधेयक ल्याएछ ।
केपी शर्मा ओली म आस्थावान र संलग्न पार्टीे नेकपाका आदरणीय अध्यक्ष मुलुकका कम्युनिष्ट प्रधानमन्त्री । उनले हठ लिएका छन् हाम्रो दुईतिहाई  बहुमतको सरकार आप्mनो व्यक्तिगत आग्रह लादन खोज्ने डा. केसीको कुरा मान्न बाध्य हुँदैन । यो त सरासर अधिनायकवाद पो हो । संसद व्यक्तिको इच्छाले बन्धक हुँदैन । उता डा केसी बिधेयक फिर्ता नभएसम्म आमरण अनसन बसेका छन् । संसदमा अड्किएको छ बिधेयक । दुवैका हठ डरलाग्दा भए । नातागत आग्रहले भन्ने हो भने मैले सरासर केपी ओलीको कुरालाई समर्थन गर्दै डा. केसी मुर्दावाद भन्नु पर्ने हो । तर मैले त्यसो भन्न पनि सकिन, किनभने मैले बोकेको मानेको बिचार र व्यवहारलाई दाँजेर हेर्दा केसीले उठाएका विचार हठलाई मैले समर्थन गर्न पुग्छु ।
यसका केही सैद्धान्तिक कारण छन । पहिलो कारण हो : समाजवादी विचारको पक्षधरतामा सम्बैधानिक जोड  । दोश्रो कारण हो : पार्टीले लिएको माक्र्सवादी विचार, जबज र चुनावी घोषणापत्र २०७४ का अडानहरु । तेश्रो कारण हो : संविधानमा उल्लेखित निशुल्क स्वास्थ्य र शिक्षामा मौलिक हकको व्यवस्था ।
सिद्धान्त र व्यवहारमा संगति नमिलाई जीवन गुजार्नेहरु ढोँगी हुन । मलाई त्यो बाटो हिड्नु छैन । सिद्धान्त र व्यवहारलाई जाँचेर हेर्दा ठिक लाग्ने कुराहरुको समर्थन र बिरोध गर्ने सष्कार र विचार प्रणाली हामीले स्थापित गर्न सकेका रहेनछौ भन्ने यो आन्दोलनमा देखिएको समर्थन र बिरोधका तरिकाहरुले देखाएका छन । समर्थन गर्नुपर्नेहरु बिरोध गरिरहेछन र बिरोध गर्नपर्नेहरुले राजनीतिक लाभका लागि समर्थन गरिरहेछन । यहीँनेर श्रमजीवी र सिमान्तकृत बर्ग सचेत हुनु पर्छ भन्ने लागेको छ ।
संविधानले समाजवाद उन्मुख राज्य भनेकाले यसले कम्तिमा जनस्वास्थ्यमा प्रभाव पार्ने स्वास्थय शिक्षामा राजकिय लगानीको माग गर्छ । नीजि नाफामुखि लगानीलाई प्रोत्साहन गर्दैन । माक्र्सवादी विचारले सोँच्दा समाजमा रहेका पिँध तहका मानिसलाई केन्द्रमा राखेर हेरिन्छ । गरिबका छोराछोरीले पढने शिक्षा, त्यसमा समान अवसर र विभेदको क्रमश अन्त्य ।

जनताको बहुदलीय जनवाद र चुनावी घोषणापत्रका अंशहरुले ‘स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गर्ने’ स्पष्ट उल्लेख गरेका छन । अर्कोतिर संविधानमा उल्लेखित धारा ३५ ले राज्यबाट आधारभुत सेवा निशुल्क प्राप्त गर्ने हक हुने उल्लेख गरेर त्यसको प्राप्ती गर्ने बाटो । यी कुरा प्राप्त गर्न केसी उठाएका सवालतिर ध्यान जानुपर्छ । स्वास्थ्य शिक्षाको नीजिकरणमा बढि जोड गर्नु सैद्धान्तिक बिचलन हो ।

मेडिकल शिक्षामा मात्र होइन प्राविधिक शिक्षामा माफियाकरण चरम ढंगले देखिएको छ । सरकार माफियाको स्वार्थ रक्षा गर्छ कि आम जनताको अधिकार स्थापित गर्ने बाटो पक्रन्छ ? । हामीले हेर्ने यही हो । यही कारण मैले ओली सरकारका अन्य कुरामा समर्थन गरेपनि मेडिकल शिक्षा बारेको बहसमा म गोविन्द केसीका साथमा रहने भएँ ।
यो लेख सार्वजनिक हुनु अगाडि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै सरकारका राम्रा कामको कार्यकर्ताले समर्थन नगरेको र बिरोधीहरुको स्वर बलिया भएकोमा   गुनासो पोखेको देखियो । ‘लेख्ने पनि लेख्दैनन र बोल्नेपनि बोल्दैनन’ ओलीको निरासा झल्कीएको समाचार बाहिर आयो । यो देखेर मलाई भन्न मन लागेको छ : प्रिय ओली कमरेड, हामी कार्यकर्ता कथनी र करणीमा मेल भएको हेर्न आतुर छौं । सिद्धान्त र व्यवहार जोडिएको हेर्न लालायीत छौं । हामी सिरानीमा संविधान, राजनीतिक दस्तावेज र पकेटमा चुनावी घोषणा पत्र बोकेर ५ बर्ष कुर्नेछौं । यसका आधारमा हामीले तपाईको कामको मुल्यांकन गर्नेछौं । तपाईलाई घोषणापत्रमा आधारित कुरा पुरा गर्न हामीले हरठाउँमा साथ र सहयोग दिनेछौं । बिश्वास गर्नुहुन्छ भने ति कार्यभारका लागि राजकिय जिम्मेवारी लिएर निष्ठाभावले समर्पित हुने छौं । सस्तो लोकप्रियताका लागि फेसबुके समाचार पोख्न भन्दा पनि जनताको जीवनस्तर उकास्ने ठोस कार्यक्रमको हामी प्रतिक्षा गरिरहेका छौं ।

प्रिय ओली कमरेड, हामीलाई थाहा छ, यो वेला देशी बिदेशी सक्रिय हुनेछन । तिललाई पहाड बनाएर प्रचार गर्नेछन र हाम्रा राम्रा काम ओझेल पार्नेछन । जनताको ध्यान अन्यत्र मोडन कोशिष गर्नेछन । हामी यी सबै षडयन्त्रबाट जोगिनु पर्नेछ । तर त्यसका लागि हामीलाई पार्टी भित्रै न्याय छ, पार्टीभित्र काखा र पाखा गरिदैन, भारदारी काण्ड घटाईदैन, यहाँभित्र कमरेडलीपन हुन्छ भन्ने मनोविज्ञान जगाउनु आवश्यक छ । शक्ति हातमा हुँदा आफना भनिनेहरु जतिको वैतरणी तार्ने ध्याउन्नबाट मुक्त भएर अगाडी बढेको हामी हेर्न चाहन्छौ केपी सरकार ।

सरकारको कामबाटै हामीलाई लाग्नुपर्छ कि यो सरकार प्रगतिशिल देशभक्त र श्रमजिवि जनताको पक्षमा निर्णय गरिरहेछ । हरेक निर्णयले काम गर्ने जाँगर उत्साह पैदा गरोस । यसो भयो भने गुनासो गर्नै पर्दैन जनता, पत्रकार, लेखक, बुद्धिजिवी आफै दायित्वबोध गर्छ र लेख्छ । स्वाभिमानी मानिस जुठोपुरो खाँदैन विवेकले बोल्छ र त्यो विवेकमा आफुले बोकेको बिश्वास घोलेर बोल्छ । पार्टीका हरेक कमिटीले सरकारले बोकेका प्रगतिशिल कदमलाई सफल बनाउन कार्ययोजना बनाएर अघि बढ्छ । आफनो विकासको एजेण्डामा सरकार प्राथमिकतालाई सहयोग पुग्नेगरी बनाउँछ र हामी निरन्तर राजकिय लक्ष्यहरु पुरागर्ने अभियानमा जुटिरहेका हुन्छौं । यो अभियानलाई माफियातन्त्रबाट जोगाउँ ।
र अन्तयमा एउटा स्मरण सुनाउन चाहन्छुः म सिद्धान्त र व्यवहार विचको मेल खोज्न खोज्दा पार्टी नेतृत्वको बारम्बार कोपभाजनबाट पीडित मानिस हुँ । ०५७ सालमा प्रचण्ड र माधव नेपालको गोरखपुरमा भुमिगत रुपमा वार्ता हुँदाको खबर बामएकताको उत्साहमा छापेवापत कारवाही भोँगेँ । त्यसपछि ०५९ सालमा तत्कालिन एमाले महासचिव माधव कुमार नेपालले समाचारपत्र दैनिकमा नेपालमा सम्वैधानिक राजतन्त्र निर्विकल्प छ भन्ने अन्तरवार्ता पढेपछि त्यसको बिरुद्ध रायमाझिपथको यात्रा सृखला लेखेवापत पार्टीबाटै निष्कासन गरिएको पात्र हुँ । त्यसैमा मैले संविधान सभा र गणतन्त्रको बाटो पक्रनुपर्ने सुझाव नेतृत्वलाई दिएको थिएँ । त्यसै गरी अहिले डनतन्त्रका बिरुद्ध बारम्बार लेखिरहेका कारण कारवाही भोग्दै छु । एमाले भित्रको शुद्धिकरण गरेर विचार, नैतिक आचरण र व्यवहार मिल्नु पर्ने मेरो तर्क नै मेरो लेखका आशय र आग्रह पनि हुन । म साँच्चै साविक एमाले भित्रकै एक निर्वासित लेखक हुँ भन्ने मलाई लाग्छ । बृहत नेकपा भित्र यी विचारहरुले कति स्थान पाउलान ?

मलाई लाग्छ केसीसंगको लडाई वैचारिक रुपमा हारिने लडाईँ हो यसबाट आन्दोलनलाई जोगाउन मैले यतिकुरा लेख्नै पर्ने ठानेर लेखेको छु । किनकी हरेक कारवाहीमा परेपनि मैले कम्युनिष्ट आन्दोलनलाई जिताएको छु । बिजयी गराउन भुमिका खेलेको छु ।

माधव प्रचण्ड मिल्दाको खुशि आज प्रकट छ, ०५९ सालको कारवाहीले म स्वयंलाई नागरिक आन्दोलनमा होमेर ल्याएको संविधान सभा र गणतन्त्रमा म लेखिरहेछु । डनतन्त्रले जित्ने त कुरै भएन सामाजिक रुपमा त्यो हार्ने निष्चित छ । यसर्थ लेख्न बस्दा म जहिले पनि कार्ल माक्र्सको एउटा भनाई दिमागमा राख्छु  ‘लेख्नका लागि बाँच तर बाँच्नकै लागि नलेख ।’  बाच्नकै लागि लेख्दा असत्य झुट, ढोँगी विचारतिर लागिन्छ म त्यसबाट जोगिन चाहन्छु । यत्ती भन्ने आधार मलाई घटनाक्रमले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस