वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, ०९ : ३२
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

काठमाडौँ  । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रु ४८ अर्ब ३७ करोड बराबर पुगेको छ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ।

गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले रु ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ।

एभरेष्ठ बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा रु दुई अर्ब ४६ करोड बराबर पुर्‍याएको छ। त्यस्तै, स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर रु दुई अर्ब ६१ करोड बराबर पुर्‍याएकाो छ।

रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर रु पाँच अर्ब ११ करोड पुगेको छ। रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन्।

ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर रु चार अर्ब ३५ करोड पुर्‍याएकाे छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर रु चार अर्ब एक करोड पुर्‍याएकाे छ ।

धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ। वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर रु तीन अर्ब ५७ करोड पुर्‍याएकाे हो।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा रु तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ। यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो।

लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर रु एक अर्ब १६ करोड पुर्‍याएकाे छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म रु एक अर्ब ८० करोड पुर्‍‍‍‍याएकाे छ।

त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ। चैत मसान्तसम्ममा प्रभुले रु एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो।

सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ। यो अवधिमा सानिमाको नाफा रु एक अर्ब ७१ करोड बराबर छ। हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ। हिमालयले चैत मसान्तसम्ममा रु एक अर्ब ४१ करोड नाफा कमाएको हो।