रुस र युक्रेनलाई वार्ता गराउन फ्रान्सका राष्ट्रपतिले चीनसँग मिलेर थाले पहल

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १३ : ५६
रुस र युक्रेनलाई वार्ता गराउन फ्रान्सका राष्ट्रपतिले चीनसँग मिलेर थाले पहल

एजेन्सी।फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले द्वन्द्वरत रुस र युक्रेनबीच वार्ता गराउनका लागि चीनसँग मिलेर योजना बनाउन खोजेको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ । म्याक्रोंले आफ्ना परराष्ट्रनीति सल्लाहकार इम्मानुएल बोनलाई चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीसँग मिलेर भविष्यमा गरिने सम्झौताको खाका तयार पार्न लगाएका छन् ।  सबै कुरा मिलेमा यही गर्मीमा रुस र युक्रेनबीच वार्ता हुने फ्रान्सको रणनीति रहेको छ । हालै चीनको भ्रमणमा म्याक्रोंले सीलाई युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग कुराकानी गर्नलाई विश्वस्त तुल्याउन सकेका थिएनन् ।

युद्ध शुरू भएयता सी र जेलेन्स्कीबीच कुराकानी भएको छैन । पश्चिमी साझेदारहरूले रुसलाई बेइज्जत गर्न नहुने भनी पोहोर साल म्याक्रोंले पश्चिमलाई चिढ्याएका थिए ।म्याक्रोंको योजनालाई किएभ र उसका साझेदारहरूको समर्थन छ कि छैन भन्ने स्पष्ट छैन । रुसलाई युक्रेनको भूभाग कब्जा गर्न दिने गरी ल्याइने युद्धविराम प्रस्तावलाई धेरैजसो पश्चिमी साझेदारले खारेज गरेका छन् । अनि रुससँग सीमाहीन मित्रता गरेको चीन युद्ध रोक्नका लागि तटस्थ पात्र हो कि हैन भन्ने विषयमा पनि पश्चिमाहरूले आशंका गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस