वर्षमान पुनकी आमामाथि गोली प्रहारबारे प्रहरीले बनायो छानबिन समिति

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १९ : ५७
वर्षमान पुनकी आमामाथि गोली प्रहारबारे प्रहरीले बनायो छानबिन समिति

काठमाडौं । वर्षमान पुनकी आमालाई गोली लागेको घटनामा काठमाडौं प्रहरी परिसरले छानबिन समिति बनाएको छ । डीएसपी द्वारिका घिमिरेको संयोजकत्वमा तिन सदस्यीय छानबिन समिति बनाइएको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार समितीलाई यथासक्य चाँडो प्रतिवेदन बुझाउन भनिएको छ। शनिबार राती गैह्रिधारास्थित पुनकी आमा रहेको घरमा पाहुना लाग्न पुगेका सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट निस्किएको गोली पैतालामा लागेको थियो ।

प्रधान न्यायाधिशको सुरक्षार्थ खटिएका प्रकाश पेस्तोल बोकेरै आफन्तकहाँ पुगेका थिए । नयाँ वर्ष मनाउनेक्रममा पुनले बोकेको पेस्तोलबाट दुर्घटनाबस गोली प्रहार भएको प्रहरीले प्रारम्भिक रुपमा निश्कर्श निकालेको छ । यसअघि कसको क्षेत्राधिकारमा पर्ने विषयमा अन्योलता हुँदा छानबिन समिति गठन हुन सकेको थिएन ।

सुरक्षा सेवा निर्देशनालयले आफै कारबाही गर्ने भन्दै प्रकाशलाई शनिबार नियन्त्रणमा लिएर हेडक्वाटर पुर्याएको थियो । काठमाडौं प्रहरी परिसरले पनि दरबन्दी सुरक्षा सेवा निर्देशनालयमा रहेका कारण क्षेत्राधिकार नपर्ने भन्दै अनुसन्धान अगाडि बढाउन आनाकानी गरिरहेको थियो ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। वर्षमानकी आमा आफ्ना अन्य दुई छोरासँग बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस