एयर इण्डिया र नेपाल एयरलाइन्सको जहाज ठोक्किनबाट जोगिए

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, १५ : ०९
एयर इण्डिया र नेपाल एयरलाइन्सको जहाज ठोक्किनबाट जोगिए

काठमाडौं । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो ।

एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।

यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस