बेल्जियमको जितमा लुकाकुको ह्याट्रिक

एजेन्सी

शनिबार, ११ चैत्र २०७९, १० : २३
बेल्जियमको जितमा लुकाकुको ह्याट्रिक

एजेन्सी । २०२४ को युरो छनोटमा बेल्जियमले विजयी सुरुवात गरेको छ। समूह एफ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा बेल्जियमले स्विडेनलाई ३-० ले पराजित गर्यो। बेल्जियमको जितमा सबै तीन गोल रोमेलु लुकाकुको नाममा रह्यो।

स्विडेनको राष्ट्रिय टिममा ४१ वर्षीय ज्लाटन इब्राहिमोभिक फर्किएपनि टिमका लागि सुखद् भने रहेन। इब्राहिमोभिक ७३ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। करिब १ वर्ष पछि मैदान फर्किदा उनलाई समर्थहरुले ‘इस्टान्डिङ ओभिएसन’ दिएका थिए। उनी ४१ वर्ष ५ महिना र २१ दिनको अवस्थामा पनि मैदानमा सकृय रहेका छन्। उनी आगामी वर्ष हुने युरो-२०२४ खेल्दै सर्वाधिक पाको उमेरमा युरोकप खेल्ने खेलाडीको कीर्तिमान बनाउने ध्याउनमा रहेका छन्।

स्विडेनविरुद्ध ह्याट्रिक गरेका लुकाकुले भने २०२१ पछि बेल्जियमका लागि पहिलो गोल गरे। लुकेबाकियोको पासालई आकर्षक हेड गर्दे ३५ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा उनले टिमका लागि थप दुई गोल गरे।

४९ औँ मिनेटमा पनि उनसले लुकेबाकियोको पासलाईनै सदुपयोग गर्दा ८२ औँ मिनेटमा बकायोकोको असिस्टलाई गोलमा परिणत गर्दै ह्याट्रिक गरेका थिए। ह्याट्रिकसँगै उनले बेल्जियमका लागि १०५ खेलमा ७१ गोल पूरा गरेका छन्।

जितसँगै बेल्जियमले पहिलो खेलमा ३ अङ्क बनाएको छ। सोही समूहमा अस्ट्रियाले अजरबैजानलाई ४-१ ले पराजित गरेको थियो। त्यस्तै अन्य खेलमा मोन्टेनेग्रोले बुल्गेरियालाई १-० ले पराजित गर्दा ग्रिसले गिब्राल्टरलाई ३-० तथा चेक रिपब्लिकले पोल्यान्डलाई ३-१ ले हरायो।

त्यस्तै सर्वियाले लिथुनियालाई २-० ले पराजित गर्दा मोरडोभा फारोइ आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकियो।

प्रतिक्रिया दिनुहोस