बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २३औँ बैठक सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, २१ : ४८
बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २३औँ बैठक सम्पन्न

काठमाडौँ । बिम्स्टेकका वरिष्ठ अधिकारीको २३औँ बैठक आज थाइल्यान्डको बैंककमा सम्पन्न भएको छ । भर्चुअल बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत वर्ष श्रीलङ्काको कोलम्बोमा सम्पन्न बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनले सदस्य राष्ट्रको नेतृत्वमा सात वटा क्षेत्रमा सहकार्यका क्षेत्रको पुनःगठन गरेको थियो । नेपाल जनसम्पर्क क्षेत्र र संस्कृति, पर्यटन र जनताबाट जनताको सम्पर्क उपक्षेत्रमा अग्रणी देश हो । परराष्ट्र सचिव पौड्यालले नेपालको नेतृत्वमा यस क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराएका छन् । 

सोही अवसरमा परराष्ट्र सचिवले नेपालले संस्कृति र पर्यटन उपक्षेत्रका लागि तयार पारेको कार्ययोजनामाथि प्रकाश पार्दै बिम्स्टेक पर्यटन कोष र पर्यटन सूचना केन्द्रलाई चाँडो सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

उनले गरिबी निवारणलाई जनसम्पर्क क्षेत्रअन्तर्गत उपक्षेत्रका रूपमा समावेश गर्न नेपालको सहमतिसमेत जनाएका छन् । बैठकले बिम्स्टेकअन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएको प्रगतिको प्रतिवेदनमाथि पनि विचार गरेको थियो । बैठकले भोलि ९ मार्चमा हुने १९ औँ बिम्स्टेक मन्त्रीस्तरीय बैठकको एजेण्डा र प्रस्तावित संयुक्त वक्तव्यको पाठलाई पनि अन्तिम रूप दिएको छ ।
 

 

 

 

प्रतिक्रिया दिनुहोस