काठमाडौंमा विहानैदेखि वर्षा, हवाई उडान नियमित

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, १० : ४५
काठमाडौंमा विहानैदेखि वर्षा, हवाई उडान नियमित

काठमाडाैं । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन केही प्रभावित बनेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौंमा पानी परे पनि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुई हजार मिटरको भिजिविलिटी छ । प्रविधिको सहायताले हुने आइएफआर उडानमा कुनै समस्या नरहेको विमानस्थलले जनाएको छ । अहिलेसम्म कुनै उडान प्रभावित नभएको विमानस्थल टर्मिनल ड्युटि अफिसर (टीडीओ) ले जानकारी दिएको छ । सबै आन्तरिक तथा अन्तर्राष्टिय उडान नियमित रहेको टीडीओले जनाएको छ ।