पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, १९ : ०६
पपुवा न्युगिनीमाथि नेपालको  रोमाञ्चक जित

काठमाडौं । ओपनर तथा विकेटकिपर आसिफ शेखको जिम्मेवार ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकालेको छ । 

शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले पराजित गरेको हो ।  पपुवा न्युगिनीले दिएको १८० रनको मध्यम लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । 

नेपालका लागि आसिफ शेख जिम्मेवारीपूर्वक ब्याटिङ गरे । नेपालले २८ ओभरसम्म ६ विकेट गुमाएर ८६ रन बनाएको नाजुक अवस्थामा उनले १३० बलमा ३ चौका र १ छक्कको मद्धतमा ८६ रनको योगदान गरे ।

उनलाई सन्दीप लामिछानेले गज्जककाे साथ दिए । अविजित रहँदै सन्दीपले ३५ रन बनाए । उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । कुशल मल्लले २३ रन जाेडे ।

यता, पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए ।

यस्तै, नेपालका पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ज्ञानेन्द्र मल्लले ६ रन, भीम सार्कीले ८ रन, कप्तान रोहित पौडेलले १ रन, आरिफ शेखले १ रन, दिपेन्द्र सिंह ऐरीले ८ रन जोडे । 

पपुवा न्युगिनीको लागि कप्तान असद वालाले तीन विकेट लिए । सेमो कमिया र सेसे बाउले दुई/दुई विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९.२ ओभरमा १० विकेट गुमाउँदै १७९ रन बनाएको थियो। 

पपुवा न्युगिनीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । उराले ३९ रन बनाउँदा डोरिगा २६ रनमा आउट भए । मुख्य ब्याटर सेसे बाउले ११ रनमै आउट हुँदा कप्तान असद भालाले समान ११ रननै जोडे । 

यस्तै, हिरि हिरिले ३१ रन, गौडी टोकाले १५ रन, चाड सोपरले ९ रन, रिले हेकुरेले ९ रन, नर्मन भानुआले १४ रन, सेमो कामले २ रन र हिला वारेले ३ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान दुई/दुई विकेट लिँदा करन केसी, सन्दीप लामिछाने र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो । 

जितसँगै नेपालले ३१ खेलमा १४ जित र १५ हारसहित ३० अंक जोडेर छैँटौ स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस