पपुवा न्युगिनीमाथि नेपालको सहज जित

सफल खबर संवाददाता

सोमबार, १५ फागुन २०७९, १८ : ५०
पपुवा न्युगिनीमाथि नेपालको सहज जित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि सहज जित निकालेको छ ।  सोमबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनरद्वयले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ६९ बलमा ५ चौकाको मद्धतमा ५६ रन बनाउँदा आसिफ शेख ५ चौकाको मद्धतमा ४४ रन प्रहार गर्दै रन आउट भए । कप्तान रोहित पौडेलले २० रन जोड्दा ज्ञानेन्द्र मल्ल भने ४ रनमै आउट भए । आरिफ शेखले ३३ रन, दीपेन्द्रसिंह ऐरीले २२ रन, कुशल मल्लले १२ रन र साेमपाल कामीले ५ रनको योगदान गरे । 

पपुवा न्युगिनीका लागि असद वालाले तीन विकेट लिए भने सेसे बाउ र नर्मन भानुआको नाममा एक/एक विकेट रह्यो ।यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहे । नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए ।

अपोनरद्वय टोनी उरा र किप्लिन डोरिगाले क्रमश: २ र २९ रन जोड्दा सेसे बाउले ३१ रन, असद वालाले ३६ रनको योगदान गरे । साथै, चार्ल्स अमिनीले ६ रन, हिरि हिरिले १० रन, रिले हेकुरेले ७ रन, अले नाओ १ रन र सेमो कमियाले २ रन बनाए । 

नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । करन केसी, सोमपाल कामी र प्रतिश जिसीको नाममा एक/एक विकेट रह्यो । 

जितसँगै नेपाल २९ खेलमा १३ र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने बाँकी खेल जीत्नुपर्ने दबाब छ ।

 

प्रतिक्रिया दिनुहोस