भारतले बनाइदिएको पुस्तकालय प्रधानमन्त्री ओलीबाट उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १७ : ३६
भारतले बनाइदिएको पुस्तकालय प्रधानमन्त्री ओलीबाट उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित तीनतल्ले पुस्तकालय भवनको उद्घाटन गर्नुभएको छ । यो पुस्तकालय भारत सरकारको चार करोड ४० लाख रुपैयाँ सहयोगमा निर्माण भएको हो । 
नवनिर्मित पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरुलाई खोज तथा सन्दर्भ सम्बन्धी सुविधा प्रदान गर्ने र पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधा पनि हुने भारतीय दूतावासले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले यस पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिएको छ । यस पुस्तकालयले भारत र नेपालबीचको मैत्री सम्बन्धलाई सुदृढ गर्नेमात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञबीच दरिलो सम्बध विकास गर्न मद्दत गर्ने अपेक्ष गरिएको छ ।
काठमाडौँस्थित भारतीय दूतावासका अनुसार, भारत सरकारले हालसम्म काठमाडांै जिल्लामा ४८ करोड ६५ लाख रुपैयाँ बराबरका आयोजना सम्पन्न गरिसकेको छ । यस्ता आयोजना अन्तर्गत विद्यालय, पुस्तकालय, अस्पताल तथा अन्य स्वास्थ्य सुविधा, आर्ट ग्यालरी, खाद्य ल्याब, महिला तथा छात्राहरुका लागि छात्रावास भवन र सामुदायिक केन्द्रहरु पर्दछन् । ४० करोड ७० लाख रुपैयाँ बराबरका बाह्र वटा आयोजना निर्माणाधीन छन् । 
उद्घाटन समारोहमा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीको उपस्थिति थियो । नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको स्वामित्व भएको संस्था हो, जुन भारत साहित्य एकेडेमीको समकक्षी रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिलाई समन्वय गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन, खोज र सांस्कृतिक एवं बौद्धिक क्षेत्रको समग्र विकासका लागि समर्पित प्रमुख राष्ट्रिय संस्था हो ।
 

प्रतिक्रिया दिनुहोस