उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

एजेन्सी

सोमबार, ०८ फागुन २०७९, १४ : ३०
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ । 

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घण्टामा दोस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । 

जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेका बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकका लागि अनुरोध गर्नुभएको छ । 

दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन् । साथै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् । दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ । 

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस