'रविलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइयो' : भीम रावल

सफल खबर संवाददाता

शनिबार, २१ माघ २०७९, १८ : ३४
'रविलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइयो' : भीम रावल

‍काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए।

नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरङ्गानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिरसमेत गरे।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे।

उनले भने, ‘आज मन्त्रीहरु हेरौँ त! जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री! जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री। जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ, निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय।

गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान! के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदली व्यवस्था ल्यायौँ, गणतन्त्र ल्यायौँ, यसको अभिष्ट के थियो?’