यु–२२ बक्सिङ च्याम्पियनसिप : बक्सर सुष्मा सम्मानित

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १८ : २०
यु–२२ बक्सिङ च्याम्पियनसिप : बक्सर सुष्मा सम्मानित

काठमाडौं । थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आइतबार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ ।

फाउण्डेसनले आइतबार एक कार्यक्रम गरी बक्सर तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सुस्मालाई चेक हस्तान्तरण गरिन् । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिता एएसबीसी एशियन यु–२२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा नेपालकी बक्सर सुष्माले रजत पदक जितेकी हुन् ।

सुष्मा गत बुधबार सम्पन्न फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदा रजत पदक हात लागेको थियो । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो ।

नेपाललाई पदक दिलाउन सफल बक्सर सुष्माले राम्रो अभ्यास र अनुभवले पदक जित्न सफल भएको र प्राप्त पदकले आगामी दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस