चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ। मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उहाँहरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पुर्‍याउन थालेको छ।

युवा कृषक नेपालले ६ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो। गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उनले बताए।

तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ। “करिब पाँच हजार केजी फल्छ होला,” उनले भने, “एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ। पैँतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु।” वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए।

यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन्। “२० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा”, उनले भने।

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएका छन्। यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए। तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए।

उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो। अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन्। दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन्।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन्। हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ। कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ।